‘हाम्रो नेपाली भाषा – भाग १’ का सन्दर्भमा

सम्पादकलाई चिठी

खिम खतिवडा
खिम खतिवडा

मेरो सानो प्रयासलाई आद्योपान्त हेरी समालोचना प्रकाशित गरिदिएर मलाई सुध्रने मौका दिनुभएकोमा ‘अक्षरिका’का सम्पादक राजेश कोइरालालाई अन्तर्हृदयबाट धन्यवाद दिँदै नेपाली भाषा तथा साहित्यप्रेमी सम्पूर्ण विद्यार्थी, अभिभावक तथा गुरुवर्गहरूलाई आगामी संस्करण र भागहरूमा अवश्य पनि सुधार्ने प्रयत्न गर्नेछु भनी विश्वास दिलाउन चाहन्छु ।

राजेश कोइरालाको समीक्षा: भाषा सिकाउने पहिलो किताब ‘हाम्रो नेपाली भाषा – भाग १’

यहाँ म २-४ कुराहरू प्रष्ट पार्न चाहन्छु । पहिलो, कोइरालाले १५ वटा पाठ छन् भनेर लेख्नुभएको रहेछ तर यस पुस्तकमा १६ वटा पाठहरू छन् । यसरी १६ वटा पाठहरू राख्नुको कारण के हो भने सामान्यतया तेस्रो मुलुकमा चलाइने नेपाली कक्षाहरू हप्तामा एक घण्टी पढाइन्छन् भन्ने मान्यता राखी ३x१६=४८ अर्थात् प्रत्येक पाठका लागि औसत घण्टी ३ राखिएको छ । अब वर्षको ५२ हप्ताबाट रहेका ४ हप्तालाई वार्षिक मूल्याङ्कन अथवा अन्य बिदाहरूलाई छुट्याउने प्रयास गरिएको छ ।

दोस्रो, यस पुस्तकका (र पछि आउने भागहरूका पनि) प्रत्येक पाठ व्याकरणका कुनै नियम, शब्द-भण्डार (प्रत्येक पाठबाट विद्यार्थीले २०-३० वटा नयाँ शब्द सिक्न सक्छन्) वा विधा आदि सिकाउने उद्देश्यले राखिएका छन् । विद्यार्थीले त्यही पाठको सेरोफेरोमा घुमेर ती कुराहरू सिक्न सक्छन् । यहाँ ‘केरा र मेवा’ पाठमा एकार र एकार लागेर बनेका शब्दहरू, ‘फुर्के बाच्छो’ पाठमा आधा वा संयुक्त अक्षर लागेर बनेका शब्दहरू (जो पाठमै ५-१० भेट्न सकिन्छ) सिकाउने प्रयास गरिएको छ । र, यदि शिक्षक/शिक्षिकाले अलिकति परिश्रम गरेर केही रोचक पाठ्यसामग्रीहरू जुटाउने हो भने अहिलेलाई त्यति गाह्रो नपर्ला (आवश्यक देखिए भविष्यमा नयाँ पाठ बनाउन पनि सकिन्छ ) ।

हो, यस पुस्तकमा सामान्य सङ्ख्या र सात वारका नाम सिकाउन सकिन्थ्यो र पहिले पाठ्यक्रममा राखेको पनि थिएँ, तर मात्रा सिकाइसकेर शब्द लेख्नसक्ने बनाउँदा नै पाठ्यघंटी सिद्धिएका हुँदा दोस्रो भागको आरम्भतिरै राख्ने प्रयास गरिएको छ ।

र चौथो कुरो हो भूमिकाको कुरो । हो, स-साना नानीहरूलाई भाषा सिकाउने पुस्तकमा २-२ वटा यति लामा भूमिका राख्नु असान्दर्भिक देखिन्छ तर यसको पछाडि हाम्रो एउटा उद्देश्य रहेको छ । यी १००० प्रति पुस्तकमा (अहिलेलाई १००० को मात्र हिसाब गरौँ) यदि ५०० प्रति मात्र विद्यार्थीका हातमा पुगे भने पनि ती किताब १००० भन्दा बढी अभिभावकहरूका हातमा पनि पुग्छन् जो अरू माध्यमबाट त्यतिका हातमा नपुग्न सक्छ । अब ती अभिभावकहरूमध्ये ५० प्रतिशत मात्रले पढ़े भने पनि ५०० जनालाई घचघच्याउने काम हुन्छ ! र, तीमध्ये यदि एक जना अभिभावकले मात्र गम्भीर रूपमा लिए र आफ्नो नानीमा आफ्नो भाषा, साहित्य र संस्कृतिको बीज रोपिदिने काम गरे भने के बेर भोलि गएर त्यही बीज हाम्रो नेपाली साहित्य जगतको विशाल वृक्ष बन्न ! भानुभक्त एक्लै थिए, लक्ष्मीप्रसाद देवकोटा एक्लै थिए, बालकृष्ण सम एक्लै थिए र अरू पनि धेरै-धेरै एक्लै थिए र छन् पनि … !

अन्तमा सम्पूर्ण अभिभावक एवं शिक्षक-शिक्षिकाज्यूहरूलाई एउटा विनम्र निवेदन ! यस पुस्तकका प्रत्येक पाठ र अभ्यासहरू धेरै महत्त्वपूर्ण र एकअर्कासँग सम्बन्धित छन् । त्यसैले विद्यार्थीले प्रत्येक पाठ र अभ्यासहरू राम्ररी बुझेपछि मात्र अगाडि बढाउनुहोला । यदि अभ्यासहरू भर्ने काम मात्र गराइयो भने विद्यार्थीहरूले आवश्यक भाषिक ज्ञान प्राप्त गर्दैनन् ।

पुन: एक पटक कोइरालालाई अनि भाषा, साहित्य तथा संस्कृतिप्रेमी सम्पूर्ण महानुभावलाई हजुरहरूको सुझाव, सल्लाह, मार्गनिर्देशन तथा न्यानो मायाको लागि धेरै-धरै धन्यवाद !

भवदीय
खिम खतिवडा
लेखक तथा सम्पादक
हाम्रो नेपाली भाषा-भाग १