गजल साहित्यमा किनाराको छाल

कृति विश्लेषण

समीक्षक
समीक्षक

गङ्गा लामिटारे

आवरणः
स्रष्टा खेम रिजालको किनाराको छाल रंगीन आवरण र साजसज्जा भएको कृति हो । यस कृतिभित्र ७०  वटा गजलहरू संग्रहित छन् । जम्मा ८८ पृष्ट भएको यस कृतिमा अन्तर्राष्ट्रिय नेपाली गजलमञ्चका महासचिव धनेन्द्र ओझाको शुभकामना सन्देश र सोही मञ्चका अध्यक्ष गोवर्धन पूजाको दुई शब्द, पुरानाघरेको प्रकाशीय र नेपाली वाङ्गमयका समसामयिक स्रष्टा कालिकाप्रसाद रिजालको उत्साहवर्द्धक सन्देश समावेश गरिएको छ । कृतिको वाह्य संरचनामा निकै ध्यान पुर्याएका छन् रिजालले । कृतिको आवणरले पाठकको मनलाई निकै आकर्षण गर्छ र कृति पढ्नका लागि पाठकलाई घच्घच्याउँछ पनि ।

शीर्षकः
कुनै पनि कृतिको शीर्षक महत्त्वपूर्ण मानिन्छ । शीर्षक नै आकर्षक, सन्देश गम्य भएन भने कृतिको मूल्य निकै कम्जोर हुन्छ । सबैभन्दा पहिला पाठकको दृष्टि कृतिको शीर्षकमा पर्ने हुँदा शीर्षक मनमोहक हुनुपर्छ । र कृतिको मूल उद्देश्यलाई पनि प्रतिबिम्बित गरेको हुनुपर्छ । खेम रिजालको प्रस्तुत किनाराको छालको शीर्षक आकर्षक हुनुका साथै बिम्बात्मक पनि छ । शीर्षकले कृतिको मूल भाव र सन्देशलाई प्रतिबिम्बित गरेको छ । शीर्षक बिम्बात्मक छ र दुई प्रकारको अर्थ बोध पनि गराउँदछ । यहाँ किनाराको छाल भन्नाले नदी वा समुद्रका किनारमा उत्पन्न हुने तरङ्गहरू भन्ने सोझो अर्थ बुझिन्छ भने अर्को बिम्बार्थ / घुमाउरो कथनका रूपमा मनमा आइरहने भाव-तरङ्गहरू भन्ने अर्थ बोध गराउँदछ । त्यसबाट स्पष्ट हुन्छ कि किनारका छाल शीर्षक प्रतिकात्मक छ । संसार रूपी समुद्रको किनारमा उभिएको मानव जीवनका भोगाइहरू नै छालहरू हुन् भन्ने बुझिन्छ । मानव जीवन पनि एउटा अतृप्त महत्वकांक्षाहरूको अन्त्यहीन समुद्र हो । त्यसैले यहाँ किनारा भन्नाले मानिसको चञ्चले मनोवृत्तिहरू हुन् । दुःख,सुख,माया, मोह,मिलन-वीरहका आलाप र विलापहरू नै मानव मनका प्रवृत्तिहरू हुन् र स्रष्टाका तीनै छरपष्ट विचाहरूको संगालो हो किनाराको छाल कृति । जीवन भोगाइका क्रममा आउने स्रष्टा रिजालका तिनै अन्तहीन विचार, भाव-तरङ्ग र छल्काकाहरूलाइ रिजालले यस कृतिभित्र गुन्थन गरेका छन् । तिनै गुन्थनहरूलाइ कृतिको शीर्षकले प्रतिनित्व गरेको हुँदा शीर्षक सार्थक र सान्दर्भिक पनि छ भन्ने बोध कृतिको अध्ययनबाट स्पष्ट हुन्छ ।

गजलकार रिजाल

विषय-वस्तुका आधारमाः
मानिस विल्कुलै समाजिक प्राणी हॊ । यस कृतिका स्रष्टा पनि यसै समाजका एउटा सदस्य हुन् । समाज भित्र बसेर सामाज बाहिर जाने कुरै भएन । रिजालले आफ्नै वरिपरिका घटनाहरूलाई सृजनाका विषय वस्तु छानेका छन् । लेखक कुनै एउटै विषयमा केन्द्रित छैनन् । उनले जीवन भोगाइका हरेक पक्ष र पाटाहरूलाई गजलमा गुन्थन गरेका छन् । त्यसमा पनि जीवन भोगाइका विविधताहरू मध्य उनको मूलभुत विषय भने प्रेम-प्रीति नै हो । यद्यपि गजल भन्ने विधा प्रेम-प्रीति, संयोग-वियोगलाई कलात्मक ढङ्गबाट अभिव्यक्त गर्नैका लागि गजलका महारथीहरूबाट उत्पन्न भएको हो । मानव जीवनमा युवा अवस्थालाई महत्त्वपूर्ण मानिन्छ । यो जीवनकै स्वर्णिम अवस्था पनि हो । यसै अवस्थाबाट हरेक मानिसले आफ्नो भविष्य निर्माणका लागि निर्दिष्ट मार्ग अवलम्बन गरेको हुन्छ । त्यसैले युवा अवस्था नै भावी जीवन निर्माणको पृष्टभूमि मानिन्छ । माया-प्रीति र प्रणयका उतार चढाव, आरोह-अबरोह पनि यसै अवस्थाबाट निर्मित भएका हुन्छन् । यिनै उमेरजन्य आकर्षण र विकर्षणबाट युवा मन बढी प्रभावित हुन्छ । उमेरजन्य प्रेम भावना पनि दुई प्रकारका हुन्छन् । पहिलो शुद्ध, पवित्र, निस्स्वार्थ र समर्पणयुक्त प्रेम र दोस्रो वासना पूर्तिका लागि मात्र गरिने प्रेम । असल प्रेम त्यो हो जहाँ त्याग र सपर्पणको भावना बढी हुन्छ । यस कृतिका नायक पनि एक लक्का जवान हुन् । उनमा पनि उमेरजन्य भावनाहरू उकुस-मुकुस हुनु स्वभाविक नै हो । उनका अधिकांश गजलहरू प्रणय कामना अभिव्यक्त गर्ने क्रममा सिर्जिएका भए पनि उनको प्रेममा कुनै स्वार्थ छैन । निस्स्वार्थ, त्याग र समर्पणको भावना नै रिजालका सर्जकीय विषय-वस्तु हुन् । वास्तविक प्रेममा त्याग र समर्पणको महत्त्व बढी हुन्छ भन्ने कुरामा लेखकको हार्दिकता पाइन्छ । अन्य विषयहरू पनि फाट फुटरूपमा देखिएका छन् । फाट फुट वा गौँणरूपमा आएका विषयहरूले पनि प्रेमको महत्वलाई उत्कर्षमा पुर्‍याउन ठुलो सहयोग गरेका छन् । कुनै निर्मोहीको बिछोड र विरहबबाट गजलकारको कोमल मनोभावनाहरू कुण्ठित भएका छन् र ती कुण्ठित भावनाहरूबाट लेखकको मन-मस्तिष्क गम्भीर घाइते भएको छ । मायालुको बिछोडबाट पागल हुने प्रेमी र सिकारीको बन्दुकबाट घाइते भएको बाघ उस्तै उस्तै हुन्छन् भने झैँ यस कृतिका स्रष्टा रिजाल पनि कुनै प्रेमिकाको बिछोडबाट गम्भीर घाइते भएका छन् । लेखकलाई घाइते बनाउने खास परिस्थिति र असह्य पीडा,मर्का र व्यथाहरू नै यस कृतिका खास विषय-वस्तुहरू हुन् भन्नेमा कुनै शंकै छैन ।
जस्तैः
लाएको माया खाएको कसम बिर्सिएर तिमीले
मायालु भन्ने अधिकार अरू कसैलाई दिन्छौ कि ?

किनाराको छालको आवरण

सँगै बाँच्ने, सँगै मर्ने भनेर खाएको कसम किन तोडेउ ? मसँगको प्रेमको अकाट्य बन्धन चुडायौ र मायालु बन्ने अधिकारबाट मलाइ किन वञ्चित गरायौ ? मैँले पाउने अधिकार किन अर्कैलाइ दियौ ? भनेर स्रष्टा रिजालले प्रेमिकाप्रति प्रश्न गरेका छन् र वीरहका मार्मिक वेदनाहरू प्रकट गरेकाछन् । जीवनको हार्दिकता नै प्रेम हो। र जीउनुको सार र प्रगतिको अग्रचाप पनि हो। प्रेमप्रति आतुर देखिएका रिजाल बिछोडका पीडामा छठपटिएका छन्,प्रिय मिलनको लागि घात-प्रतिघात गरेका छन् र प्रीयाप्राप्तिका लागि असाध्ये छटपटाहट गरेका छन् ।

तिम्रो अभाव पछि मेरो जीवन शून्य शून्य बनेको छ । मलाई यस्तो अवस्थामा पुर्याएर छाड्नु नै थियो भने मेराजीवनमा नै किन आयो? तिम्रा ती मिठा र मृधृ स्पर्श, कर्के नजर र मोहिनी मुष्कानलाइ जीवन जीवन भुल्न सक्दिन म । जीवनमा बाँच्ने आशा गुमाएर मुर्दातुल्य बनेका रिजालले आफ्नो अवस्थाको चित्रण यसरी गरेका छन्-

जहाँ टेक्छु त्यहींको माटो धस्किन्छ
जहाँ समात्छु त्यहीँ भाँचिन्छ ।

जीवनमा सँगै बाँच्ने सँगै मर्ने बाचाका साथ प्रणय बन्धनमा बाँधिएका रिजालको धैर्यताको बाँध त्यति बेला भत्कन्छ जति बेला उनकी आशाकी परी सानु यस अघिका सबै बाचा बन्धन तोडेर एक्कासि टाडिन्छे । सानु आफूददेखि किन टाडिइन भन्ने रहस्यको उद्घाटन भने रिजालले कतै पनि दर्शाएका भने छैनन् । यति उत्कर्षमा पुगेको सानु र लेखक रिजालको प्रणय प्रीति किन यसरी त्रासादीमा परिणत भयो भन्ने कारण खुलाइएको छैन । युवा अवस्था सँगै आकुराउने भानात्मक बासना पनि प्रेम हो। यसको सम्बन्ध भावनासँग भन्दा पनि बढी शरीरसँग हुन्छ । तर यहाँ त्यस्तो छैन । बासना तृप्तिको छनक अलिकति पनि छैन । प्रेममा मिलनको भन्दा बिछोडको महत्त्व धेरै महान् र शक्तिशाली हुन्छ भन्ने ज्वलन्त उदहारण बनेका छन् रिजालका गजलहरू ।

पात्र / चरित्रका आधारमाः
लेखले प्रतिपादन गर्न खोजेको विषय-वस्तु र उद्देश्यलाई उत्कर्षमा पुर्‍याउने महत्त्वपूर्ण भूमिका पात्र / चरित्रहरूको हुन्छ । आफूले प्रयोग गरेका चरित्रहरूका माध्यमबाट नै स्रष्टाले लेखकीय विषयको प्रतिपादन गर्न चाहन्छ । पात्र वा चरित्र बिनाको सृजनाले समाजमा कुनै पनि सार्थकपूर्ण सन्देश प्रवाह गर्न सक्दैन । लेखको सन्देश समाजपरक हुनुपर्छ । समाजलाई हानी नोक्शानी पुर्‍याउने खालको हुनुहँदैन । कृति पढेर त्यसबाट केही सकारात्मक सन्देश प्रवाह गर्नसक्नु पर्छ । त्यसमा रिजालको प्रस्तुत कृतिले पनि हाम्रा युवा वर्गलाई प्रेममा नैतिकताका साथै सांस्कृतिक आदर्श पनि हुनुपर्छ । र त्यस्तो नैतिकाको कसीमा बाँधिएका प्रेमप्रीतिले नै समाजलाई सही मार्गदर्शन गर्नसक्छ भन्ने सन्देश रिजालका यस कृतिमा प्रयोग गरिएका मूर्त-अमूर्त चरित्रहरूका व्यवहार र चालचलनबाट स्पष्ट हुन्छ । यस कृतिमा प्रेमका दुई अवस्था छन् । एउटा संयोगान्त र अर्को वियोगान्त अवस्था । घटनाक्रमलाइ संयोगान्त तर्फ लैजाने क्रममा लेखक स्वयमले भूमिका खेलेका छन् भने विषयलाई विपरीत वा वियोगान्ततिर मोड्न नायिका सानुले विशेष भूमिका खेलेकी छन् । र अन्ततः कृतिको मूलभूत घटनाक्रम वियोगान्त नै छ । विषयलाई संयोग बनाउने सङ्घर्षमा लेखक स्वयम् नायक भएर पनि असफल बनेका छन् र प्रयासै नगरी विषयवस्तुलाइ त्रासादी बनाउने कार्यमा नायिका सानु सफल बनेकी छन् । यसरी चरित्र-चित्रणका आधारमा पनि नायक नायिका आआफ्ना अडान र संघर्मा उत्तिकै समान देखिन्छन् ।

उद्देश्यः
कुनै पनि सृजनाको एउटा न एउटा उद्देश्य अवश्य हुन्छ । उद्देश्य बिनाको सृजना नै हुनसक्दैन । हरेक स्रष्टाले आफ्ना ह्रदयका अन्तर्निहित भावतरङ्गलाइ अक्षर, शब्द र अर्थको तारतम्य मिलाइ आफ्नो सर्जकीय उद्देश्य समाजमा पस्कन चाहन्छ । विचार र अनुभवहरू बाँड्न चाहन्छ । यसरी आफ्नो अभिव्यक्तिका माध्यमबाट पाठकहरूमा सन्देश बाँड्न लेखक रिजाल निकै सफल देखिन्छन् । सन्देश जहिले पनि मीठो सकारात्मक मात्र हुँदैन । सोझो, सरल मात्र हुँदैन । नकारात्मक र प्रतिक्रयात्मक पनि हुन्छ । घुमाउरो र बिम्बात्मक पनि हुन्छ । सन्देश जे जस्तो भए सामाजिकता र सांस्कृतिक विविधतामा खलल पुग्ने किसिमको भने पक्कै पनि हुनुहुँदैन । प्रस्तुत किनाराको छाल कृतिको उद्देश्य कुनै पनि असामाजिक, अर्यादित र उत्शृङ्खलित छैन ।

सांस्कृतिक पक्षः
यस कृतिभित्र पर्याप्तरूपमा नेपाली समाज,संस्कृति र समसामयिकतालाइ प्रतिबिम्बित गर्ने शब्दहरू प्रयोग गरिएको छ । नेपालीपन र नेपाली मनबाट लेखक अलिककति पनि टाडिएका छैनन् । पानी पँधेरो, चौतारो, खोला, नाला, वर-पिपल,बनपाखा,उकाली ओराली,माया-प्रीति,मिलन विरह, घात-प्रतिघात जस्ता शब्दहरूको भरमार प्रयोग गरेर नेपाली जातीय पन देखाउन किनाराको छाल निकै सफल देखिन्छ ।

भाषा-शैलीः
लेखकीय उद्देश्यलाई सफल र सार्थक बनाउन भाषा र शैलीको महत्त्वपूर्ण भूमिका हुन्छ । भाषा सरल,शुद्ध र स्पष्ट भएन भने कृतिले दिने सन्देश बोधगम्य हुँदैन । त्यसैले सरल,सोझो र सहज भाषाको प्रयोग गरिएको छ भने मात्र सन्देश अर्थपूर्ण हुन्छ । अर्थपूर्ण सन्देशले मात्र पाठक मनलाई सहजरूपमा प्रभाव पार्नसक्छ । रिजालको प्रस्तुत कृतिको भाषा सरल र सरस छ । कोमल पदावलीको प्रयोग गरेका छन् । कुनै पनि शब्दको भाव-भङ्गी र अर्थको मूल मर्म बिगार्ने र भावलाई खल्बद्याउने र विकृत बनाउने खालका शब्दहरूको प्रयोगमा लेखक निकै सतर्क देखिन्छन् । संस्कृत तत्सम शब्दभन्दा पनि बढी ठेट नेपाली शब्दहरूको चयन गरेका छन् । भाषा कोमल, सरस र प्रवाहपूर्ण छ । त्यसै गरी खेम हरि रिजालको भाषागत शैली पनि सरल सोझो छ , कुनै पनि भनाइलाई बङ्ग्याएका छैनन् । घुमाएका छैनन् । व्यंग्यात्मक पनि छैन र बक्रोक्ति पनि छैन । भाषा अलंकार युक्त छ भने शैली मनमोहक छ भन्ने कुरा उनका गजलका सेरहरूबाट स्पष्ट हुन्छ । प्राय रिजालका सृजनाहरू पठ्न योग्य मात्र छैनन् । ज्ञेयात्मक पनि छन् ।
जस्तैः

हरम हर हर हारमुनि बाजा दाम पर्‍यो हजार
सँगै जाउँ दाउरा सँगै पानी सँगै जाउँ बजार ।

उनका गजलहरू साधारण व्यक्ति/पाठकले सहजै पढ्न र गाउँन सक्छन् । खेम रिजाल स्रष्ट्रा मात्र होइनन् गायक र नायक पनि हुन् । उनका गीति एल्बमहरू पनि बजारमा आएका छन् र अमेरिकादेखि नेपाल भूटानसम्म उनका गीतहरू गुञ्जायमान छन् । चाहे उनका गजलहरू हुन् वा गीति एल्बमहरू हुन् नेपाली पाठकहरूका मनमस्तिष्कमा प्रभाव जमाउन निकै सफल छन् । साहित्य साधनाका साथसाथै गायन क्षेत्रमा पनि उनको लगाव उत्तिकै सशक्त छ । रिजाल बहुआयमिक व्यक्ति हुन् । उनका विभिन्न व्यक्तित्वहरू भए पनि यहाँ उनको सृजनात्मक व्यक्तित्वका बारेमा मात्र उल्लेख गर्ने प्रयास गरिएको छ । उनका सामाजिक,गायक र अभिनयात्मक व्यक्तित्वका बारेमा पनि अध्ययन,अनुसन्धान गर्न पनि त्यतिकै आवश्यक देखिन्छ । अत्यन्त मिलन सार,मृदुभाषी रिजाल अध्ययन र समाजिक संस्थाहरूमा पनि क्रियाशील छन् ।

उनी प्रेमम चुर्लुम्म डुब्न चाहन्छन् । जीवन जीवन मायलुको अँगालोमा कसिन चाहन्छन् । मुटुमा मुटु जोडी प्रेमको तिर्खा मेट्न चाहन्छन् । मायालुको मन्दमुस्कानमा हराउँन चाहन्छन् र कोमल स्पर्शको आनन्दमा डुबुल्की मार्न चाहन्छन् । चड्किएको शिर प्रेमिकाको न्यानु काखमा राखेर जीवन जीवनको दुख,दर्द र पीडाहरूको निदान गर्न चाहन्छन् । राजनीतिमा पनि विद्रोहको राँको बाल्न चाहन्छन्, उनी । आफूलाई बाल्यकाल मै देश विहीन बनाउने राज्य सत्ताप्रति आक्रोश पोख्दै गजलका सेरहरूमा यसरी गर्जन्छन्, रिजाल-

कठै मर्छ निरङ्कुशता सत्त अब ढल्छ साथी
चट्टान होइन पहाड पनि पक्कै गल्छ साथी ।

देश फर्कन चालिएका सबै सङ्घर्षहरू विफल भएपछि हतास भएका साथीहरूलाई ढाडस दिँदै रिजाल भन्छन्, निरन्तर खन्दै जाँदा विशाल पहाड त एक दिन अवश्य डल्नसक्छ भने निरङ्कुश राज्य सत्ताको पतन अश्य पनि निश्चित छ । तर सङ्घर्ष भने जारी राख्नु पर्ने सुझाव कवि रिजालको छ । जाति,संस्कृति र संधर्षको त्रिवेणी किनाराको छालभित्रका गजलहरू अन्याय,अत्याचार,शोषण र उत्पीडनहरूको बकालत गर्नमा पनि त्यतिकै सशक्त छन् । यसका अतिरिक्त पैसा कमाउनका लागि विदेशिने युवा वर्गहरूलाइ पनि विदेश विदेश नै हो । जेभए पनि विदेश स्वदेश जस्तो कहिले हुनसक्दैन । पैसा नै कमाउनका लागि विद्रेश नै जानुपर्छ भन्ने छैन । स्वदेशमै बसेर पनि पैसा कमाउन सकिन्छ । त्यसैले विदेशमा जति दुख गर्नुपर्छ पैसा कमाउनका लागि त्यति कष्ट स्वदेशमा गर्नुपर्दैन । युवा साथीहरूलाई विदेश जाने प्रवृत्ति बिर्सनु पर्छ । देशको निर्माण देश मै बसेर मात्र हुन्छ भन्ने सन्देश उनका गजलहरूमा पाइन्छ । भूटानमा रोपिएको,नेपालमा अंकुराएको र अमेरिकामा पुनर्वासपछि फष्टाएको रिजालको साहित्यिक यात्रा निरन्तर अघिबढिरहेको छ । सात समुद्र पारी पुग्दा पनि आफ्नै देशका बनपाखा,उकाली-ओह्राली,भञ्ज्यागं,बेसी,हिमाल, तराईका सम्झनाहरूले लेखकलाई पछ्याइ रहेका छन् । राज नेताहरूमा देखिएको भ्रष्टचार,कलह र घमण्डका कारण देश र जनताले भोग्नुपरेका मार्मिक पीडाहरू पनि उनका गजहरूमा अभिव्यक्त भएका छन् । देश प्रेम र राष्ट्रिय भावनाले टनाटन भरिएको रिजालको अर्को गजल यसरी गर्जन्छः

प्यारो लाग्छ गाउँ-घर माया लाग्छ नेपाल कै
देश डुब्न लाग्दा पनि नेता भने मस्ती आज ।

पुरूखेउली देश नेपालमा देखिएको राजनैतिक अस्थिरता र त्यसले निम्त्याएका चुनौती र समस्याहरूबाट देशको अस्तित्व नै संकटमय बन्नपुगेको अवस्थाबोधबाट सिर्जिएका गजलहरू देश भक्ति र जातीयताप्रति समर्पित छन् । वर्तमान देश र जनताले सामना गर्नुपरेका समस्याहरू देखेर रिजालको मन कुँडिएको छ । चरचर छात्ती चिरिएको छ । कोमल भानाहरू सिसा झैँ फुटेका छन् । त्यसैले त उनी अर्को गजलमा यसरी गर्जन्छन् –

कहिले आउला शान्ति कठै धेरै भयो क्रान्ति
भत्काउँदै छन् पाटी-पौवा किन जबर्जस्ती ।

देशमा अब क्रान्तिको अन्त हुनुपर्छ । जनतालाई भ्रान्तिमा पार्ने खेल समाप्त हुनुपर्छ । र देशलाई समुद्धितिर लैजान शान्ति र अमनचयन कायम गर्नुपर्छ भन्ने रिजालको आग्रह छ । देशमा विखण्डन होइन निर्माण र प्रगतिमा जोड दिनुपर्छ । क्रान्तिलाई छाडेर शान्ति,सद्भाव र मेलमिलापको मार्ग अवलम्भन गर्नुपर्छ । देश विकासका लागि बसुधैव कुटुम्बकंको महाअभियान प्रारम्भ गर्नतर्फ सबै एकढिक्का भएर जुट्नुपर्छ भन्ने आग्रह लेखकले गरेका छन् ।

सारांशमाः
किनारको छाल भावना प्रधान कृति मात्र होइन । यसका साथै विचारको समन्वयात्मक सृजना पनि हो भन्ने कुरा कृतिको अध्ययनबाट पष्ट हुन्छ । कृतिको मूल अद्देश्य विभिन्न व्यभिचार र कुलतमा फँसेका युवावर्गलाइ सही मार्ग निर्देश गर्नु रहेको बुझिन्छ । साथै युवा मनलाई बढी प्रभाव प्रभाव पार्ने तत्त्व चुलबुले मन हो । उमेरसँगै नैसर्गिक रूपमा उत्पन्न हुने सुसूप्त काम वास्नाले पनि युवा मनलाई बढी प्रभाव पार्ने गर्छ । त्यही सुसूप्त अवास्थामा रहेको दमित वास्ना युवा अवस्थामा प्रवेश गर्नसाथ विपरीत लिङ्गीप्रति बढी आकर्षण बढ्नु स्वाभाविक नै हो। यही आकर्णकालाइ नैतिकताको कसीमा राखेर समाजले प्रेमप्रीतिको नाम दिएको हो । जस्तो सुकै नाम दिए पनि अन्ततः दुई युगल प्रेमीहरूको मिलन पनि अप्रत्यक्ष रूपममा वास्ना पूर्तिकै अर्को रूप हो । चाहे प्रेमप्रीति होस् वा काम-वासना पूर्ति होस् दुई विपरीत लिङ्गीको हार्दिक समागम नै मानव सृष्टिको एउटा निरन्तर प्रक्रिया हो । त्यसैले उमेरजन्य वासनाको दमन गर्नुहुँदैन । यदि दमन गर्ने प्रयास गर्‍यो भने मानव मन विकृत बन्नसक्छ । विकृत मनबाट कुनै पनि असल कार्य हुनसक्दैन । हुन त कविलाइ प्लेटोले अर्ध पागल नभनेका पनि होइनन् । उनले मनका तीन अवस्था हुन्छन् भनेका छन्। सचेतन मन,अर्द्धचेतन मन र अवचेतन मन । सचेत अवस्थामा कविता लेखिदैन । अवचेतनमा पनि लेखिदैन । कविता सृजनाको अवस्था भनेकै अर्द्ध चेतन अवस्था हो । जतिबेला कविले कविता लेख्न प्रारम्भ गर्छ त्यति बेला अर्द्धचेतन मन सक्रिय हुन्छ र चेतन मन र अवचेतन मन निस्क्रया हुन्छन् । त्यसैले पाश्चात्य दार्शानिक प्लेटोले काम वासना / यौन क्रियाकलाप र कवित्व सृजनाको अवस्था भनेको अर्द्ध पागल अवस्था हो भनेर परिभाषित गरेका छन् । यौन उन्मादका समयमा पनि अर्द्ध चेतन अवस्था सक्रिय हुन्छ र अन्य चेनत मन र अवचेतन मन निस्क्रिया हुन्छन् । यस अवस्थामा मानिस पाशविक बनेको हुन्छ र पशु झैँ आचरण गर्नपुग्छ । सृजना र प्रजनन्का लागि अर्द्ध चेतन मनलाई महत्त्वपूर्ण अवस्थाका रूपमा व्याख्या गरेका छन् पश्चिमा दार्शनिकहरूले ।

स्रष्टा रिजाल पनि एक लक्का जवान हुन् । उनमा पनि प्रेमको उन्माद चढ्नु अस्वाभाविक होइन । रिजाललाइ कुनै एउटी सानु नाम गरेकी युवतीले ठुलो धोका दिएकी छन् । उनको सँगै बाँच्ने र सँगै मर्ने प्रण ती सानुले तोडिदिएकी छन् । ती निर्मोही सानुको विश्वास घातबाट रिजाल अर्द्ध पागल झैँ बनेका छन् । सृजनातर्फ मन नबनाएका भए रिजाल पूर्ण पागल नै हुनेथिए । तर उनले त्यो पागलपनलाइ सृजना तिर लगाएकाले उनी आज एक सफल स्रष्टका रूपमा स्थापित हुँदैछन् । भनिन्छ‘प्रेममा धोका खाएको मानिस पागल बन्छ कि त बन्छ कवि” । सानुको वियोगको असह्य पीडाले नै उनलाई कवि बनायो । रिजाललाइ साहित्य र संगीको क्षेत्रमा चर्चित बनाउनेमा पक्कै पनि ती सानुको महत्पूर्ण भूमिका रहेको छ भन्ने कुरा रिजाका सृनाहरूमा छताछुल्ल भएर पोखिएका भावनाबाट स्पष्ट हुन्छ ।

उपसंहारः
खेमहरि रजालको प्रस्तुत कृति भूटानको नेपाली गजलको विकास क्रममा एक माइल खुट्टी मान्न सकिन्छ । कृतिको शीर्षकदेखि उपसंहारसम्म सर्सती हेर्दा कृतिको अवमूल्यन गरिहाल्न सकिन्न । किनाराको छालको बाह्य तथा ओन्तरिक संरचना त्यति फ्यातुलो पनि छैन र कमजोर पनि । विचार पक्षा जस्तो सुकै भए पनि कृतिको भाव पक्ष सबल छ । गेयात्क र संगीततत्मक छ । यसो हुँदा हुँदै पनि भाव र विचारको सन्तुलनतर्फ स्रष्टा रिजालले त्यति ध्यान पुर्याएका छैनन् । सम्भवतः पहिलो कृति भएकाले पनि सन्तुलन कायम हुननसकेको हुनुपर्छ । भनाइलाई प्रभावकारी बनाउने प्रयास गर्दा शब्दहरू तोडमोड भएका छन् र सेरहरू पनि भत्केका छन् । स्रष्टा रिजालले यस गजल काव्यकी नायिका सानूलाइ बोल्ने अधिकार नदिएर गम्भीर गल्ती गरेका छन् । सानुले किन मन अर्कातिर मोड्नु पर्‍यो ? त्यसको वास्तिवक रहस्यको उद्घाटन गर्न स्रष्टा रिजाल असफल छन् । नारी चरित्रलाई आफ्ना समस्याहरू व्यक्त गर्ने अधिकार नदिनु रिजालभित्र पुरूषप्रधान सामाजको अनुत्कृष्ट सोचको परिणाम हो भन्नसकिन्छ । पुरुष प्रधान समाजद्वारा निर्मित संस्कार र संस्कृतिका नाममा नारीमाथि अन्याय गरेका छन् । सुरुदेखि अन्तसम्म नै एकतर्फी / एकोहोरो प्रेमालापका सन्दर्भहरू मात्र समावेश गरिएको छ । एकासौं सताब्दीमा पनि नारीहरूहरूलाइ मनोरञ्जनका साधन र खेलौनाका रूपममा मात्र प्रयोग गरिनु समय सान्दर्भिक अवश्य ठहरिएन । नायक- नायिकाबीचमा हुने सम्वाद,सहमति,क्रिया र प्रतिक्रयाहरूलाइ पनि समेट्ने प्रयास गरिएको भए पक्कै पनि प्रस्तुत किनाराको छाल एक उत्कृष्ट र सशक्त गजल काव्यका रूपमा स्थापित नहुने कुरै थिएन ।